बुधबार १६ श्रावण, २०७५
शीतलपाटीन्युज डटकम।
काठमाडौं। प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले नेपाल प्रहरीलाई चुस्त दुरुस्त बनाउन प्राविधिकतर्फको भूमिका महत्वपूर्ण रहेकोहुँदा प्राविधिक प्रहरीहरु आफ्नो कार्यमा निपूर्ण हुनपर्नेमा जोड दिएका छन् । आईजीपी खनालले संगठनले अख्तियार गरेको रणनीति अनुसार उत्कृष्ट प्रहरीको रुपमा आफूलाई चिनाउन निर्देशन उनीहरुलाई निर्देशन समेत दिएका छन् ।
आईजीपी खनालले पदोन्नति भएका प्राविधिक प्रहरी निरीक्षकहरुलाई बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच दर्ज्यानी चिन्हद्वारा समेत प्रदान गरे । सो अवसरमा आईजीपी खनालले पदोन्नति भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै पदोन्नतिसँगै कार्यक्षेत्र र पदीय जिम्मेवारीसमेत बढेको उल्लेख गरे ।
राष्ट्र, सरकार र नागरिकको अपेक्षा अनुसार अझै राम्रो सेवा प्रदान गर्न सके प्रहरीप्रति विश्वास बढ्ने र सामाजिक मर्यादा तथा प्रतिष्ठा समेत प्राप्त हुने चर्चा गर्दै आईजीपी खनालले संगठनको उद्देश्यप्रति थप व्यावसायिक भएर स्तरीय कार्य सम्पादन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेल, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु तथा प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।