शुक्रबार १७ मंसिर, २०७८ (Friday December 03, 2021)

चैत १८ गतेबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घन्टा बन्द हुने

सोमबार २० फाल्गुन, २०७५ गोर्खाली न्युज सम्वाददाता 1587


चैत १८ गतेबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घन्टा बन्द हुने

धावनमार्ग मर्मतको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चैत १८ गतेबाट दैनिक १० घन्टा बन्द गरिने भएको छ । हाल  दैनिक २१ घन्टा संचालन हुँदै आएको विमानस्थल त्यसपछि दैनिक १४ घन्टा मात्रै खुला रहने भएको छ। 

 विमानस्थल कार्यालयका अनुसार धावनमार्गको कालोपत्रे उप्काएर नयाँ कालोपत्रे गर्न दैनिक १० घन्टा बन्द गर्न लागिएको हो। अहिले धावनमार्ग पुरानो भएर बेलाबेलामा समस्या उत्पन्न हुने गरेको छ।कुनै समस्या उत्पन्न नभए धावनमार्ग कालोपत्रे तथा अन्य मर्मतको काम जेठ १० गतेसम्म सकिने अनुमान गरिएको छ।

मर्मतको बेला विहान ८ देखि बेलुका १० बजेसम्म मात्रै विमानस्थल खुल्ने जानकारी अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्दै आएका आन्तरिक र बाह्य सबै विमान कम्पनीलाई गराइसकिएको बिमानस्थल कार्यालयले बताएको छ । 

धावनमार्ग कालोपत्रेको लागि चाइना नेसनल एरोटेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसनले ठेक्का लिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले धावनमार्ग मर्मतको ठेक्का तीन अर्ब ७५ करोड रुपैयाँमा दिएको हो। प्राधिकरणले सन् २०१४ मा विमानस्थल सुधार कोष बनाएर विमानस्थल विकास शुल्कको नाममा अन्तर्राष्ट्रिय उडान गर्ने विमान कम्पनीबाट प्रतियात्रु एक हजार रुपैयाँ संकलन गर्दै आएको छ। सोही शुल्कबाट विमानस्थलको धावनमार्ग मर्मत गर्न लागिएको प्राधिकरणले जनाएको छ। उक्त शुल्क बापत उठेको रकम हालसम्म सात अर्बभन्दा बढी रुपैयाँ छ।

चिनियाँ कम्पनीले तीन हजार ५० मिटर लामो धावनमार्गमा कालोपत्रे गर्नेछ। विमानस्थल सञ्चालनमा आएदेखि नै धावनमार्ग पूर्णरूपमा मर्मत गरिएको छैन। पटकपटक धावनमार्गको माथिल्लो भाग कालोपत्रे गर्ने र सामान्य मर्मत मात्रै हुने गरेकामा पहिलोपटक कालोपत्रे उप्काएर पूर्ण रुपमा मर्मत गर्न लागिएको विमानस्थल कार्यालयले जनाएको छ ।

४९ दिनभित्रै धावनमार्ग मर्मत सक्ने प्रतिबद्धता चिनियाँ कम्पनीले जनाएको छ। प्राधिकरणले भने कम्पनीलाई ७० दिनको समय दिएको छ। कम्पनीले दैनिक ८० मिटरभन्दा बढी धावनमार्गमा ३० देखि ५३ सेन्टिमिटर बाक्लो कालोपत्र गर्ने जनाएको छ।

धावनमार्गको मर्मतपछि त्रिभुवन विमानस्थल २४ सै घन्टा सञ्चालनमा ल्याउने तयारी भइरहेको बताईएको छ ।

Share this:




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?