बिहीबार २० चैत्र, २०७६ (Thursday April 02, 2020)

स्वर्गभूमी सजाऔं - कविता

मंगलवार १ माघ, २०७५ मातृकाप्रसाद खनाल 1613


स्वर्गभूमी सजाऔं - कविता

नेपालको शिखरमा अनगिन्ति माला 
कैलाशको गजुरमा सरिबा सुनौला 
यो विन्दु हो नयनको, नव ज्योति-माला 
यो सिन्धु हो विजयको, नव कर्म-शाला । १    
       लर्को छ यो रजतको पृतना डुलेझैँ 
       छाँगा झरे; बटुकले खुकुरी भिरेझैँ 
       भूगोलको मुकुटमा समिधा बलेझैँ 
       देखेँ कला; हृदयमा सृजना खुलेझैँ । २
ती घाम-जून अलकापुरमा उदाए 
यी धाम ! पूज्य मनले सहसा सजाए 
यो वेदको धरहरा, रजनी उज्यालो 
पूर्वीयता धवलता दिल-कण्ठ प्यारो । ३ 
      फेता गुथेर चुचुरा हिमले सजाई 
      बोल्छे उषा दिनदिनै चिडिया जुर्टाई 
      मायाँ भरेर दिलमा रविले समाल 
      तारा झरेर उरमा गर अंकमाल । ४
आकाशबाट रबिले छर ज्योति पुञ्ज 
ब्रम्हाण्डको मृदुलता डुल कुञ्ज-कुञ्ज 
देदीप्यमान रुपको हिमखण्ड उच्च 
प्राचीन पूर्व-पविता हितमा समुच्च । ५ 
        झुक्दैन यो अरुण हो सिर हुन्छ उच्च 
        लुक्दैन यो मुकुल हो अझहुन्छ मुक्त 
        योगा गरी हिमचुली अझ हुन्छ उच्च 
        भूगोलमा तपगरी मन हुन्छ मुक्त । ६ 
यो लोकको पवनले मधुपुष्प र्छछ 
संसारको कलुषता सव नास गर्छ 
नेपालको गहनता यश-कीर्ति भर्छ 
भण्डार यो प्रकृतिको अपरंपरा छ । ७ 
        यो जूनको टलकमा हिम फुल्न सक्छ 
        यो ज्ञानको सगरमा मन जुट्न सक्छ 
        यो ताज हो जगतमा रवि झुक्न सक्छ 
        यो भेल हो मगजमा कवि फुक्न सक्छ । ८ 
देखौं महान सपना नव पाखुरीमा 
मान्छे बनेर, जगमा बस एकतामा 
साझा थलो, विजयको इतिहास हाम्रो 
स्वर्गीय भू ! अब नहोस् कहिलै नराम्रो । ९
        यो स्वर्गको महकमा कजिएर बाँचौ 
        कैलाशमा श्रमगरी पसिना बहाऔँ  
        संसारको गजुर यो सहसा उठाऔँ 
        आफ्नै कला, रगतले धरती सजाऔं । १०

राइनास नगरपालिका वडा नं.- ६, 
         तीनपिप्ले, लमजुङ
              मोवाइल नं. ९८४६४५८३७४
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?