बिहीबार २० चैत्र, २०७६ (Thursday April 02, 2020)

आधुनिक नारी- कथा

बुधबार २५ पुष, २०७५  डिल्लीरमण गौतम 2654


आधुनिक नारी- कथा

         कीर्तिपुर बसपार्कमा गाडि रोकिएको थियो । गाडि भरिएको पनि थियो तर हिँड्ने सुरसार थिएन । मान्छे खाँदिरहेको थियो समान मिलाए जसरी । बोल्यो भने हेल्परले हपार्दै भन्थ्यो, “ट्याक्सीमा जानु नि हतार भए ।”
  त्यसै पनि कीर्तिपुरका  सार्वजनिक सवारीलाई उठ् यातायात भन्छन् किनकि यहाँ बसेरभन्दा उभिएर यात्रा गर्ने बढि हुन्छन् । तर पनि यहाँको यातायातमा यात्रा गर्नुको मजा भने बेग्लै हुन्छ । यो यस्तो ठाउँ हो, जहाँ नेपालको उच्च शिक्षा हासिल गर्ने अधिकांश विद्यार्थीहरु रहने गर्दछन् । हरेक दिन केही न केही समसामयिक विषयमा बहस हुने गर्दछ । त्यो दिन पनि तर्क वितर्क चल्दै थियो । विषयवस्तुको सुरुवात महिला आरक्षण सिटमा पुरुष बसेको अवस्थाबाट भएको थियो । एउटी महिला चिच्याउँदै थिइन् “यो महिला सिटमा तपाइँलाई बस्न लाज लाग्दैन - बस्ने नै भए साडी लगाएर आउनु नि ।” 
अधिकाश महिला हो मा हो मिलाउँदै थिए । तर एकजना महिला सम्झाउँदै थिइन् “तपार्इँ महिला भए पनि उमेरकी हुनुहुन्छ तर उहाँ त वृद्ध हुनुहुन्छ । त्यसैले यो सिटमा दावी गर्न तपाईलाई सुहाउँदैन ।”
 यो यस्तो तर्क थियो, जुन मैले चाहेर पनि भन्न सकिरहेको थिइनँ । त्यसैले मलाई यो आवाज आएतर्फमोडिन मन लाग्यो । भित्रैबाट आभार पनि व्यक्त गरेँ सायद उनले बुझिहोलिन् । संयोगवश बसाइ आमने सामने परेछ । मैले भनिहालँे “तपाइँ जस्तै बुझने नारी सबै हुन्थे भने त महिला आरक्षण स्वतः हट्थ्यो होला ।” 
उनले मिठो आवाजमा धन्यवाद मात्र भनिन् । मलाई पनि धेरै बोल्न मन लागेन किनकि अघि रोकिएको बस यति जोडले कुदिरहेको थियो कि सायद ड्राइभरले अघि गाडि रोकिँदाको समय असुल उपर गर्नुपर्दथ्यो । जसको कारण छलफल कम चल्दै थियो त्यो दिन ।
    अर्को दिन पनि उस्तै संयोग, उस्तै बसाइ उही विषयमा छलफल । उनी कसैको प्रश्नको उत्तरमा जवाफ दिँदै थिइन्, “नेपालका महिलाहरु महिलाकै कारणले पछि परेका हुन् । घरको काममा मात्र महिलालाई लगाउनु, महिलाको कामको मूल्य नहुनु, शिक्षामा पछाडि पारिनु, घरबाट सकेसम्म बाहिर निस्कन नदिनु यस्तै हुन महिला पछाडि पर्ने कारणहरु । मलाई उनका तार्किक कुराहरु एकदमै मनपर्र्‍यो जसले मलाई सोचमग्न पनि बनायो तर,म बोलिरहेको थिइनँ । सायद उनलाई पनि बोल्ने मन थिएन तर जवाफ दिनै पर्ने थियो होला र उनी बोलिरहेकी होलिन भन्ठानें ।
    यो क्रम निरन्तर चलिरहेको थियो किर्तिपुर टु रत्नपार्कको यात्रा । संयोग कस्तो थियो भने हामी धेरै जसो त्यही समयमा गाडिमा सँगै हुन्थ्यौँ र हामी परिचय बिनाकै साथी भैरहेका थियौँ । कसैले त बोल्नु थियो । “सरको अफिस कुन हो - हामी धेरैजसो सँगै जान्छौँ तर परिचय नि भएन !”  म राजन, फाइनान्समा काम गर्छु, कालोपुलमा । घर बुटवल । मास्टर पढ्न यहाँ आएको सकिएको दुइ वर्षभयो तर अझै यतै बस्छु । मैले तुरुन्त बताएँ । यस्तो लाग्थ्यो कि मलाई यो सुनाउन एकदमै हतार थियो । 
मैले सोधें तपाइँ नि - “म सविना, समाजशास्त्रमा मास्टर भर्खर सकाएँ । अहिले महिला अधिकारकर्मीको रूपमा काम गर्दै छु, अफिस वानेश्वर । कार्ड पाउन सक्छु -” परिचित अनुहारको कारण उनले बोल्न धक मानेको मैले ठानिन ।
 मैले त्यतिञ्जेल कार्ड निकालिसकेको थिएँ । त्यसपछि हाम्रो चर्चाको विषय समसामयिक विषय मात्र रहेन । प्रयाशः दिनप्रतिदिन भेट हुने हुँदा हामी व्यक्तिगत रुचि र चासोका विषयमा कुरा गर्न थालिसकेका थियौँ । विस्तारै सञ्चारका सबै जस्तो माध्यममा हाम्रा कुराहरु हुन थाले र विस्तारै भेटघाट पनि, प्रायः ठाउँ हुन्थ्यो किर्तिपुरको विहार । हुनत अब गाडीमा सँगै जानु संयोग हुन छाडिसकेको थियो किनकि जो छिटो आए पनि कुरेर, कुरे जस्तो गरेर वा अघिल्लो गाडी छुटे जस्तो बनाएर भएपनि हामी सँगै जान्थ्यौँ । 
    एकदिन बन्द हडतालको कुरा चलिरहेको थियो । कोही भन्दै थिए, आज उपत्यका बन्द हो रे ।  बल्खुनेर पुग्दा कालो झन्डा तथा लट्ठी बोकेका हुलहरु कुद्दै आइरहेका थिए र भन्दै थिए कि गाडी रोक् हाम्रा माग पुरा नभएसम्म गाडी चलाउन पाइँदैन ।
 यस्तो लाग्थ्यो, देशका सम्पूर्ण मागहरु पुरा गरिदिने गाडीवाला वा गाडीमा चढ्ने यात्रुहरु हुन् । चुपचाप गाडीबाट झर्नुको अर्को विकल्प थिएन । न्ा थियो हामीसँग  अर्को कुनै साधनमा जाने अवस्था । लुखुर लुखुर हिँड्दै अगाडि बढ्यौँ । कुलेश्वरनेर पुग्दा हामी एक अर्काका हात समाएर हिँडिरहेका थियौँ तर थाहा भएन कसले कसको हात पहिला समाएको थियो । कालिमाटी पुग्दा निर्णय भैसकेको थियो कि हामी आज आ-आफ्नो अफिस जाँदै छैनौं । जसको अर्थ थियो हामी आज धरहरा जाँदै थियौँ । धरहराबाट काठमाडौंका विभिन्न दृश्यहरु हेर्दै हामी घण्टौ सम्म गफिदै बसिरहृयौँ । उनी समीपमै थिइन्, हाम्रो दुरी खासै थिएन । अनायासै अँगाल्दै उनले भनिन्  “आइ लभ यू ।” 
उनले भनेको वाक्य बाहेक मैलै पनि सबै उस्तै गरेँ, जस्तो उनले गरेकी थिइन् । त्यतिबेला मैले श्रीमती ,छोरी, घरपरिवार सबै बिर्सिसकेको थिएँ । सायद उनले पनि बिर्सिरहेकी होलीन् कि -
 उनी महिला अधिकारको लागि काम गर्छिन् । जब सम्झे्, अँगालोबाट हटेर भनें “आई एम सरी”
 तर उनले फेरि जोडले अँगाल्दै भनिन् “तपाईँको गल्ती भए पो सरी भन्नु ।”
 मनमनै सोचेँ, “गल्ती नै होइन भने किन दुःखी बन्नु ।”
  तल झर्दा थाहा भयो त्यो दिन प्रेम दिवस अर्थात् फेब्रअरी १४ रहेछ । उनले भनिन् “के हामी प्रेम दिवस मनाउन आएका थियौँ -
” मैले भने “रहेछ ।”
 अरू सबैलाई लाग्थ्यो होला हामी पनि अरू जोडि जस्तै एक जोडि थियौं जो दिवस मनाइरहेका थिए । त्यसपछि हामीले पनि केही समय सामूहिक रूपमै दिवस मनायौं ।
 लामो समयको मौनतापछि उनले भनिन् “तपाईलाई चिया मन पर्छ । चिया पिएर फर्कौँला ।”
 “भो रात पर्छ हिँड्दै जानु छ ।”
 तर पनि म सम्मोहित भएझैँ उनको पछि लागेँ । हामी नजिकैको चिया पसलमा छिर्‍यौ र पछिल्लो टेबलमा बस्यौं । चिया ल्याउन पनि कुनै बिलम्ब भएन । उनकै लागि भएपनि स्वादिलो पाराले लिएको चियाको चुस्कीसंगै मैले फेरि दोहोर्‍याएँ “आइ एम सरी ।”
“केको लागि -, उपत्यका बन्द तपाईँले गरेको हो - कीर्तिपुर यातायात तपाईँको हो - तपाईँ असल हुनु तपाईँको कमजोरी हो - वा मैले तपाईँलाई माया गर्नु तपार्इँको गल्ती हो -” 
मसँग बोल्ने कुनै शब्दहरु थिएनन तर बोल्नु त पर्दथ्यो । 
“मलाई त्रि्रो माया लाग्नु हुँदैनथ्यो ।”
“ तपाईं रोक्न सक्नुहुन्थ्यो -”
“तिमीले रोकिनु पर्दथ्यो ।”
 “तर म गाडी भित्र थिएँ, गाडी रोकिएको भए म रोकिन्थेँ । जस्तो कि आज बल्खुमा गाडी रोकियो ।”
 “गाडी रोक्नु भनेको भए त ड्राइभरले रोक्थ्यो नि त ।” 
“तर यहाँ ड्राइभर थिएन ।” 
“ रिमोट त थियो होला नि त्यसो भए -”
“ रिमोट माथिबाट चल्छ ।”
“के त्यसो भए आज उपत्यका बन्द माथिबाटै भएको थियो -त्यो पनि हाम्रै लागि -” 
“नत्र कहिल्यै यस्तो हुदैनथ्यो कि -” मैले आफैंलाई सोधेँ । हाम्रो सम्बादका शब्दहरु कडा भएपनि आवाज पल्लो टेबुल सम्म पनि पुगेको थिएन ।
     होटलमा मानिसको ज्यादै भिड भैरहेको थियो, हाम्रो चिया सकिएको लामो समय भैसकेको थियो । अर्को कुनै मेनुको माग थिएन । हामी फर्कियौं । फर्किंदा आठ बजिसकेको थियो । आआफ्नो कोठामा जाने विचार पनि भएन र सम्भव पनि थिएन ।
×    ×           ×    ×    ×    ×    ×    ×    ×    ×    ×    ×
     हाम्रा बहसहरु थप जटिल बन्दै जान थाले । एकदिन मैले फेरि उस्तै प्रश्न दोहोरर्‍याएँ, “परिवार, समाज र कानुनले यस्तो मायालाई के भन्ला -” 
जवाफमा उनले भनिन्, “त्यसो भए भन्नू मलाई, परिवार, समाज र कानुनले कुन ठाउँमा लेखेको छ - माया गर्नु हुँदैन भन्ने - ए माया गर्न पनि नपाइने - त्यसमाथि मैले गरेको पनि होइन, मलाई तपार्इँको माया लाग्छ त मैले के गर्नु - के तपाईँ कसैलाई माया गर भन्दा गर्न र नगर भन्दा नगर्न सक्नुहुन्छ -” 
एउटा प्रश्न सोध्यो भने सयौ‍ अरू प्रश्न आउँछन् तर उत्तर.......।
“ अहँ सक्दिनँ” मैले भने । “भो म तिमीसँग हारिसकेको छु । मलाई यो भन्दा बढी हार्नु छैन । भन तिमी मबाट के आशा गर्छौ -” 
“केही पनि छैन ।” 
“त्यसो भए किन माया गर्छौ त -”सोधिसकेपछि मात्र पछुतो भयो किन सोधेछु भन्ने ।
“यदि कुनै कारणले माया लाग्ने र गर्ने हो भने शब्दकोशबाट माँया’ भन्ने शब्द नै हटाए हुन्छ ।”
“तर, तिम्रो श्रीमान्लाई त धोखा हुन्छ नि त ।”
“म विवाह गर्दिनँ ।”
“किन -”
“कानुनमा दोस्रो विवाह वर्जित छ । “तपाईंको विवाह भैसकेको छ -”
 “अरु कसैसँग -”
“अरु कसैको माया लाग्दैन ।”
“आमा बन्ने पनि रहर छैन -”
“छ,,त्यसैको लागि त हामी लडिरहेका छौँ । हामी संविधानमा बाबुको पहिचान नखुलेको सन्तानको नागरिकता आमाको नामबाट लिन पाउने अधिकार सुनिश्चित गर्न चाहन्छौँ । म आमा बन्न चाहन्छु र मेरो नामबाट सन्तानको नागरिकता दिलाउन चाहन्छु । यदि त्यसो भयो भने बिहे नगरे पनि आमा बन्न सक्छु ।”
“सन्तान जन्माउन बाबु चाहिँदैन -” 
“त्यसको लागि त तपाईँ हुनुहुन्छ नि । के मेरो रहर पुरा गर्न सक्नुहुन्न - हाम्रो मायाको चिनो हेर्न चाहनुहुन्न र -”
मैले मनमनै सोचें, “हरेक नेपाली महिलाहरु तिमीजस्तै तार्किक र बौद्धिक हुन्थे भने....”
“तिम्रो माया अमर बनोस् , तिम्रो रहर पुरा होस् ।” मैले भनें ।
“के मेरो रहर पुरा हुन्छ त -”
मेरो जवाफ नपाएर उनले फेरि भनिन् “तर जवरजस्ती छैन । जुन दिन - पुरा गर्न सक्छु भन्ने लाग्छ अनि बोलाउनु होला । भोलिदेखि म गाउँ जाँदै छु ।”
भोलिको दिन उनी साच्चिकै गाउँ हिँडिन् । म छरपस्ट कोठा मिलाउन थालेँ ।
×    ×           ×    ×    ×    ×    ×    ×    ×    ×    ×    ×
      आज पनि म कीर्तिपुरको यातायातमै छु, गाडीको अवस्था उस्तै छ । एकाध बाहेक सबै यात्रुहरु फरक छन् । गाडीमा आज पनि संयोगवश त्यस्तै बहस चल्दै थियो संविधानमा महिला अधिकार बारे । एउटी महिला खुसी हुँदै भन्दै थिइन् । “संविधानले आमाको नामबाट नागरिकता दिने व्यवस्था गरेछ नि ।”
  “हो ।” अर्की महिलाले भनिन् !
अझ एउटी महिलाले त संविधानको धारा पढेर नै सुनाइन् “नेपालको नागरिक आमाबाट नेपालमा जन्म भइ नेपालमा बसोवास गरेको र बाबुको पहिचान खुल्न नसकेको व्यक्तिलाई वंशजका आधारमा नेपालको नागरिकता प्रदान गरिनेछ” । 
“त्यसो हो भने त छाडा संस्कृतिको विकास हुने भो अब नेपालमा पछाडिबाट आवाज आयो ।
 “बिहे नै नगरी सन्तान जन्माउने अर्कोले ज्रिब्रो टोक्दै बोल्यो । 
“यस्तो संविधान जलाउनै पर्छ , चर्को स्वर निकाल्दै अर्को एकजना जुरुक्क उठ्यो ।
 मैले बहसमा कुनै प्रतिक्रिया जनाइन तर बहसले विगत झस्काइ दियो । वर्षौदेखि मनमा प्रश्नै प्रश्न तेर्सिइरहेछन् । “के मैले उनलाई आइ लभ यु टु भन्न मिल्छ - अथवा मलाई त्रि्रो धेरै माया लाग्छ भन्न मिल्छ - के मैले उनको रहर पुरा गर्न मिल्छ - के यसबारेमा बहस हुने कुनै अदालत छ - के माया लाग्नु नै गलत हो - खै के खै के -”  धेरैबेर सम्म मेरो मनमा तरङ्गका छालहरु ओहोरदोहर गरिरहे ।
उत्तर मिल्दैन प्रश्नै प्रश्न थपिँदै जान्छन् ।  तर उनी समाज सेवामा व्यस्त रहन्छिन्, म आफ्नै परिवार सेवामा । वैशाखको भुकम्प पश्चात मेरो परिवार यतै बस्छौँ । भूकम्पले धरहरा ढलाएसँगै हाम्रो मायामा पनि भूकम्प आए जस्तै भएको छ । एकपटक उनी भेट्न आउँदा श्रीमतीले के के प्रश्न सोधेर हैरान पारेदेखि भेट पनि भएको छैन । संविधानमा व्यवस्था गरेकोले मैले उनको रहर पुरा गर्ने निर्णय गरें । उनलाई बोलाउन फोन गर्दा फोनमा अर्कै महिलाको आवाज आयो । 
“सविनाजी खोइ त -” मैले सोधेँ । 
उनले आत्तिएको स्वरमा जवाफ फर्काइन् “राज बिरामी भएर हस्पिटल जानु भएको छ ।” 
म अझै आत्तिदै सोधेँ “को राज -”     
“सविनाजीको छोरा । म हस्पिटल जाँदै छु, हस्पिटलमा कोही छैन । पछि फोन गर्नोस् न है” उनले झर्किदै भनिन् ।
राजको बाबा कता हुनुहुन्छ - भनेर सोध्न नपाउँदै फोन काटिइसकेको थियो ।

(बलेटक्सार, गुल्मी)




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?