आईतवार ११ कार्तिक, २०७५
एजेन्सी - अमेरिकाको पिटसबर्ग शहरमा शनिबार एकजना बन्दुकधारीले एक धार्मिक कार्यक्रममा अन्धाधुन्ध गोली प्रहार गरी ११ जनाको ज्यान लिएका छन्।
पिटसबर्गमा यहुदीहरूको प्रार्थना सभा चलिरहेका बेला आएका ती बन्दुकधारीले अन्धाधुन्ध गोली हान्दा ४ प्रहरी अधिकारीसहित ६ जना घाइते भएका छन्।
बन्दुकधारीले ‘सबै यहुदीहरू मर्नुपर्छ,’ भन्दै गोली हानेका थिए।
प्रहरीले ती बन्दुकधारीलाई नियन्त्रणमा लिएको छ। पिट्सबर्गका ४६ वर्षीय रोबर्ट बोयर्सलाई संघीय जाँच अधिकारीले २९ वटा मुद्दा लगाएका छन्।
बन्दुक लिएर आक्रमण गर्न जानुअघि रोबर्टले सामाजिक सञ्जालमा ‘यहुदी शरणार्थी संस्था हिब्रु आप्रवासी सहयोग समाजले आफ्ना नागरिकलाई मार्न मानिसहरू ल्याइरहेको र म आफ्ना नागरिक मारिएको हेर्न सक्दिनँ, म जाँदैछु’ भनेर लेखेका थिए।
अमेरिकी सञ्चारमाध्यमले अमेरिकामा यहुदी समूदायमाथि भएको यो अहिलेसम्मकै ठूलो आक्रमण भएको जनाएका छन्।